एक्जाम पनि सकियो, जागिर पनि खुस्कियो
परीक्षा बल्ल साउन ८ मा सकियो। त्यसो त परीक्षा जेठ १६ गतेदेखि नै सुरु हुने पूर्वनिर्धारित कार्यक्रम थियो। तर जेठ १५ मा गणतन्त्र घोषणा भएपछि भोलिपल्ट १६ गते नै परीक्षा कसरी दिन सकिन्छ भन्दै विद्यार्थीहरुले विरोध गरेपछि जेठ १६ को एउटा परीक्षा आज अर्थात् साउन ८ गतेका लागि सारिएको थियो। परीक्षा लगभग ठीकै गरियो। यस पटक सूचना प्रविधिको पनि भरपूर उपयोग गरियो परीक्षाका लागि। तर चार चार घण्टासम्म हातले लेख्नुपर्ने परीक्षा दिन सुरुमा निकै गार्हो भयो। टाइप गर्ने बानी परेको हामी जस्तोलाई हरेक परीक्षामा लगातार चार घण्टा लेख्नुपर्दा हात कम दुखेन।
आम सञ्चार तथा पत्रकारिताको स्नातकोत्तर तहको परीक्षा त सकियो, तर त्यो सँगसँगै एभिन्युज टेलिभिजनको जागिर पनि खुस्कियो। परीक्षाको लागि भनेर केही दिन विदा बसेको त जागिरबाटै बर्खास्त गरिएको जानकारी पो पाइयो !
अचम्मै नौटंकी भएको थियो त्यो दिन। वास्तवमा वर्षभरी विभिन्न कारणले राम्रोसित पढ्न सकिरहेको थिइनँ म। कलेज पनि नियमित जान सकिरहेको थिइनँ। त्यसैले पढाइमा ध्यान विदा बस्न त जरुरी त थियो नै। त्यसैले आफ्नो विभागका प्रमुख अर्थात् न्युज चिफ प्रवीण गिरीलाई जानकारी दिएर नै अनुपस्थित रहेको थिएँ म।
एकदिन दिउँसो पढेर बसेको बेलामा फोन बज्यो। कसको भनेर उठाउँछु त अफिसबाट रहेछ। प्रशासन प्रमुख दुर्ज्बा महर्जनले गरेका रहेछन्। प्रशासन प्रमुखले फोन गर्नु ठीकै थियो। तर भाषा भने अहो, १९ अौँ शताब्दीका दासलाई प्रयोग गरे जस्तो। दासलाई हकारे जस्तो पो हकार्दो रहेछ किन नआएको अफिस ? कसलाई जानकारी दिएर बसेको ? आदि इत्यादि भन्न हुने/ नहुने सबै कुराका साथ। मैले नम्र भएर मैले आफ्नो विभागको प्रमुखलाई जानकारी गराएकै थिएँ भनेर भन्दा पनि ‘के ?’ ‘कसलाई रे ?’ भन्दै असभ्य पारा निकालेर हकारेको हकार्यै।

प्रशासन प्रमुख दुर्ज्बा महर्जन (सबैभन्दा दायाँ)
अनि त मेरो पनि पारा चढिहाल्यो- मुख सम्हाल्नुस् है, म दास हैन भनेर भनेको त ‘तेरो बोल्ने तरिका यही हो ? अफिसमा काम गरेको कि कहाँ काम गरेको ? अबदेखि आउनु पर्दैन भन्छन् बा…
सुरुदेखि नै मण्डले ट्याग लागेको त्यो टिभीमा काम गर्न इच्छा नहुँदानहुँदै व्यवसायिकताको खातिर काम गरिरहेको थिएँ- कुनै पनि बेलामा छाड्न तयार रहेको मानसिकताका साथ। अझ काम थाल्नुअघि भएको अन्तर्वार्तामा समेत मलाई तपाईँ पढाइलाई प्राथमिकता दिनुहुन्छ कि कामलाई भनेर सोधिँदा मैले पढाइलाई भनेर स्पष्ट शब्दमा नै भनेको थिएँ।
को आउँछ त दासको व्यवहार गर्ने ठाउँमा भनेर मैले पनि जवाफ फर्काएँ। उसले त्यसो भए राजीनामा दे भन्यो। मैले म किन राजीनामा दिने, दिन्नँ भनेर भनेँ। त्यसो भए म आफै मिलाउँछु भनेर उसले फोन ठ्याक्क राख्यो।
अनि मैले समाचार प्रमुखलाई के भएको रहेछ त यो भनेर फोन गरेको त फोनै नउठाउने बा…! बिचरालाई समाचार प्रमुखको हैसियत बिर्सेर चाकडी गर्दैमा फूर्सद छैन होला, के फोन उठाउनु त नि।
यो घटनालाई मैले कुनै नौलो रुपमा लिएको छैन। नेपालका श्रमजीवी पत्रकारहरुको हालत यस्तै हो। जुन मिडिया हाउसमा गए पनि खासै फरक छैन। यी मालिकहरु आफ्ना कर्मचारीहरु दक्ष हुन् भन्ने पनि चाहन्छन् अनि कर्मचारीको पढाइ जस्तो जीवनसँग जोडिएको विषयलाई पनि बेवास्ता गर्छन्। यस्ता कथा अनगिन्ति छन्। तर यसरी दासलाई झैँ हकार्ने विषय चाहिँ पहिले नेपाल वन टिभीमा मात्रै सुनेको थिएँ। आज आफैले पनि महसूस गर्न पाएँ। एउटा नौलो perspective बाट मिडियालाई बुझ्न पाएँ। त्यसको लागि एभिन्युज टिभीलाई धन्यवाद छ।
सुरुवातदेखि सोही टिभीमा संलग्न रहेर काम गरेको हुनाले अझै पनि शुभेच्छा छ, प्रगतिको कामना छ एटिभीलाई। एटिभी प्रसारण नहुँदा गरिएको एक महिने Approach to air तालिमले मलाई व्यक्तिगत रुपमा पनि निकै सघाउ पुर्याएको छ। एटिभीको अर्को प्रमुख विशेषता वा यसलाई मैले मान्ने कारण भनेको यसको ग्राफिक्स टिमको कुशलता पनि हो। साँच्चै अरु टिभीभन्दा पृथक देखाउने काम यसको ग्राफिक्सले गरेको छ।
अनि त्यहाँ काम गर्दा मैले देखेको मिडिया बुझेको भन्ने मान्छे चाहिँ भाष्करराज कर्णिकार नै हुन्। हो, उनका बारेमा अनेक थरिका नकारात्मक कुराहरु छन्। तौलेर हेर्यो भने आलोचकहरुले नकारात्मक कुरा नै बढी पाउलान्। तर तालिमको कालमा र प्रसारण भइसकेका अवधिमा भने उनले जति मिडिया त्यहाँका हाकिम भनाउँदाहरुले एक छेउ पनि बुझेको देखिएन। वर्षौँ समाचार खेलाएका प्रवीण गिरी जस्ता व्यक्तिको काम ‘हो सर, हैन सर’ भन्दै सीइअोका अगाडि सही थाप्ने बाहेक केही देखिएन। समाचारमा नयाँ आयाम कसरी दिने, कसरी त्यसलाई व्यवसायिक बनाउने अनि कसरी हेर्न लायक बनाउने- उनको जति आइडिया कसैको पनि हुँदैन थियो। वास्तवमा छोटो समयमा नै एभिन्युज चर्चामा आएर स्थापित टेलिभिजन बन्नसक्नुको रहस्य पनि यही हो। तर त्यसो भन्दैमा नराम्रा पक्ष पनि नभएका चाहिँ हैनन्। उनी आफ्नो जिद्दीलाई कायम राख्छन्। अनि आफूले भनेको कुरा नै सही हो भन्ने ठान्छन्। Media ले कहिले पनि Social reality लाई objectively report गर्न सक्दैनन् भन्ने तथ्य mass media theorist हरुले प्रतिपादन गरिसकेका छन्। तर उनी उनले देखेको कुरा नै अन्तिम सत्यका रुपमा ठान्छन् र त्यसैमा जिद्दी गरिरहन्छन्। अनि अर्को उनको authoritative nature. कतिपय विषयमा यस्तो व्यवहार आवश्यक र सही पनि होला। तर कतिपय समयमा भने प्रत्युत्पादक सिद्ध हुनसक्छ।
त्यसबाहेक आफ्ना सहकर्मीहरु, उनीहरुलाई पनि म सम्झन्छु। निकै सहयोगी थिए, मित्र भाव थियो सबैबीच। केही साथीहरु त यस्ता थिए- उनीहरु एकै जनाले दुई तीन वटा कार्यक्रमको एडिटिङ त्यो पनि रस आवरमा भ्याइदिन्थे। कोही चाकडी गर्दै हाजिर बजाउँदै घण्टा हान्थे भने कोही चाहिँ एकदम कामप्रति लगनशील। (घण्टा हान्नुको मतलब- आठ घण्टा, काम होस् कि नहोस्, बस्नै पर्ने, नभए घण्टाको हिसाबले तलबमा पैसा काटिने व्यवस्था छ त्यहाँ)
वास्तवमा भन्नुपर्दा त्यहाँको सबभन्दा कमजोर र खराब पक्ष भनेको व्यवस्थापन नै हो। त्यसलाई सुधार गर्यो भने र जनशक्ति तथा भौतिक उपकरणमा अलि सुधार गरियो भने एटिभी प्रगति पथमा लम्किनेछ। शुभकामना छ एटिभीलाई !